Cricketअजय फुयाल- ट्वान्टी–२० विश्वकपमा नेपालको खेल हेरेर फर्किएका पत्रकार भास्कर ज्ञवालीको बंगलादेश संस्मरण सम्झना आइरहेछ। कुनै बेला फुटबलको लागि बनाइएको र प्रयोगमा आउने गरेको मिरपुरको शेरे बंगला रंगशाला अहिले क्रिकेटको स्वामित्वमा पुगेको छ। जारी विश्वकपका मुख्य खेलहरू त्यही रंगशालाले आयोजना गरिरहेको छ। सन् २००३ मा नेपाली यू–१९ टोलीले पहिलो पटक एसियाली स्तरको फुटबल प्रतियोगिता एएफसी यू–१९ च्याम्पियनसिपको छनोट चरण त्यही मिरपुर रंगशालामा खेलेको थियो।
प्रशान्त गिरीको कप्तानीमा मिरपुरमा छनोट चरणमा आयोजक बंगलादेशलाई पाखा लगाएर अन्तिम चरणलाई छानिएको नेपाली टोलीले त्यही वर्ष विकास मल्लको कप्तानीमा मलेसियामा एएफसी च्याम्पियनसिप खेल्यो। बंगलादेशको छनोट चरणमा सफलता हासिल गरेर घर फर्किएलगत्तै घरेलु प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबविरुद्ध खेल्दा विपक्षी गोलकिपरसँग ठोक्किएर प्रशान्त घाइते भएका कारण विकासले अन्तिम चरणमा नेपाली टोलीको नेतृत्व गरेका थिए।
विकासलाई टेलिभिजनको पर्दामा मिरपुरमा विश्वकपका ठूला खेल भइरहँदा आफू खेलेको ११ वर्षअघिको सम्झनाले सताइरहन्छ। ‘हामी त्यही रंगशालामा खेलेर छानिएका थियौँ। अहिले त हामीले बल कुदाउने मैदानको बीचमा पिच बनाइएको रहेछ। राम्रो रंगशाला थियो। बंगलादेशले क्रिकेटमा प्रगति गरेसँगै त्यहाँको फुटबल धेरै तल खस्कियो,’ विकासले दुखेसो गरे, ‘नेपाली टिमको खेल त्यही रंगशालामा परेको भए हामी पक्कै सुपर १० लाई छानिन्थ्यौँ। किनकि त्यो रंगशाला हाम्रा लागि ‘लक्की’ छ।’
विकास मिरपुर र भाग्यलाई जोडेर भावुक भएका थिए। तर, बंगलादेशी पत्रकारहरू भने उनीहरूको क्रिकेटले लगातार प्रगति गरिरहँदा पनि अर्को लोकप्रिय खेल ओरालो लाग्दै गरेकोमा दुःखी रहेको भास्करले संस्मरणमा उल्लेख गरेका छन्। ‘सन् १९९३ मा नेपाली राष्ट्रिय फुटबल टोलीले स्वर्ण जितेको बंगबन्धु रंगशालालाई क्रिकेटबाट छुट्याउनुपरेको पीडा पनि उनीहरूले भुल्न सकेका थिएनन्। उनीहरू हामीलाई क्रिकेटले बंगलादेशमा अरू खेल सखाप पारेको बताइरहेका थिए। उनीहरूले फाइनलमा मणि शाहले भारतविरुद्ध गरेको बराबरी गोल बिर्सन सकेका थिएनन्।  शाहको गोल सम्झनामा ताजै राखेका बंगाली पत्रकार गणेश थापा, कृष्ण थापा, राजु शाक्यजस्ता नेपाली फुटबल खेलाडीको अझै चर्चा गरिरहेका थिए,’ भास्करले संस्मरण सुनाए।
बंगलादेशी पत्रकारलाई उद्धृत गर्दै उनले भने, ‘हाम्रो देशमा त क्रिकेटले फुटबल स्टेडियमसमेत खोस्यो, नेपालले क्रिकेटमा पाउने सफलताले अरू खेल नमरोस्। त्यस विषयमा तिमीहरूको कलम चलोस्।’
हुन पनि विश्वकपमा छनोट भएदेखि नेपाल क्रिकेटमय भएको छ। यहाँ सबै क्रिकेट बुझ्ने र क्रिकेटलाई माया गर्ने हुन थालेका छन्। १० वर्षको बालकदेखि ७० नाघेका वृद्ध सबैमा क्रिकेटको ज्वरो चढेको छ। विश्वकपमा सहभागिता जनाएपछि त नेपालको जर्सी लगाएरै हिँड्ने फेशन पनि चल्यो। क्रिकेटको कुरा नगरे समाजमा पछि परिनेजस्तो मनोविज्ञान पलाएको छ। सामान्य मजदुर, किसानदेखि, व्यापारी, पत्रकारदेखि लेखक, समाजसेवीदेखि राजनीतिक नेतृत्व, बिचौलियादेखि कर्मचारी सबैमा क्रिकेटप्रेमी हुने लहर छ। यो लहरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले हङकङ र अफगानिस्तानलाई हराउनुका साथै टेस्ट खेल्ने आयोजक बंगलादेशलाई नजिकबाट चुनौती दिएर मलजल गर्ने काम गर्योि।
कुनै पनि खेलको विकासका लागि यस्तो लहर र लोकप्रियता नभई नहुने तत्व हो। यस अर्थमा नेपाली क्रिकेटको विकास हुने आशामा यसलाई सकारात्मक मान्न करै लाग्छ। तर, भास्करलाई बंगलादेशी पत्रकारले सुझाव दिएझैँ क्रिकेटको यही क्रेज कतै नेपालमा फुटबल, कराते, तेक्वान्दोजस्ता कम्तीमा दक्षिण एसियामा प्रचुर सम्भावना बोकेका खेललाई ओरालो झार्ने माध्यम त बन्ने होइन। यतातिर सोच्नु जरुरी छ। फेरि एउटा समर्थकको नाताले आफैँमा क्रिकेटले थप गति लिने विश्वास गर्न सकिने ठाउँ पनि त छैन।
विश्वकपमा सनसनीपूर्ण प्रदर्शनका साथ विश्वमाझ नेपाल र नेपाली झन्डा सानले फहराएर फर्केलगत्तै राष्ट्रिय टोलीका कप्तान पारस खड्काले भने, ‘अब क्यानलाई भन्ने हो।’ पारसको भनाइको अर्थ सायद क्यान दूरदर्शी र वैज्ञानिक रूपमा चलोस्, घरेलु संरचना बलियो बनाओस्, क्रिकेटलाई व्यावसायिक बनाओस्, खेलाडीकै भरमा शिखर चढ्ने यात्रा गर्दा झिनामसिना सहयोगलाई नै आफ्नो जिम्मेवारी पूरा भएका अर्थमा नलियोस् भन्ने थियो। निजी क्षेत्र, सरकार, नागरिक समाज, राजनीतिक वृत्त सबै क्रिकेटप्रति सकारात्मक भएर लगानी गर्न आतुर भइरहँदा क्यानले त्यसलाई सही व्यवस्थापन गर्न सकोस् भन्ने सायद पारसको अपेक्षा थियो।
नेपाल क्रिकेट संघको अदूरदर्शी र अवैज्ञानिक कार्यशैलीका कारण पारस बोल्न बाध्य भएका पनि हुन्। त्यसैले क्रिकेटप्रति यति ठूलो लहर आउँदा पनि उत्साहित हुने पर्याप्त ठाउँ भेटिन्न। नेपालजस्तो कम विकसित देशमा एउटा खेलले एकल प्रभुत्व जमायो भने अन्य खेल त्यसकै छायामा परेर बिस्तारै लोप हुने अवस्थामा पुग्छन्। बंगलादेशको फुटबल खस्केबाट पनि यसको शिक्षा लिन सकिन्छ। कुनै समय नेपाली खेलाडीले समेत धेरै पारिश्रमिक पाउने राम्रो गन्तव्य थियो, बंगलादेश। त्यहाँको फुटबल लोकप्रियताबारे बयान गरेर अहिले पनि गणेश थापा र कृष्ण थापा थाक्दैनन्। पछिल्लो समय हरि खड्का, उपेन्द्रमान सिंह, निराजन रायामाझी, वसन्त थापा, वसन्त गौचन, राजेश शाहीको पनि पैसा कमाउने गन्तव्य थियो, बंगलादेश। तर, एक दशकयता त्यहाँको फुटबल ओझेलमा छ। दर्शकको रुचि घट्दो छ। प्रायोजक र राष्ट्रिय प्राथमिकतामा पनि त्यो प्रतिविम्बित भइरहेको छ।
नेपालमा यस्तो नहोस्। क्रिकेटको विकास अरू कुनै खेलको विनाशको कारण हुनु हुँदैन। क्रिकेट शिखर चढिरहँदा फुटबल, कराते, तेक्वान्दो वा अरू कुनै खेल भीरबाट झर्नु हुँदैन। क्रिकेट नेपालले नतिजाका लागि खेल्ने टिम खेल हो। क्रिकेटबाट अन्तर्राष्ट्रिय स्तरमा ठूला सफलता सम्भव छन्। यसै गरी तेक्वान्दो र करातेलगायत मार्सल आर्ट्स, बक्सिङ र एथलेटिक्स व्यक्तिगत विधामा हामीले आशा गर्न सक्ने खेल हुन्। फुटबल भने तत्कालका लागि अन्तर्राष्ट्रिय नतिजाभन्दा संस्कार, व्यावसायिकता र भविष्यको आधार बनाउनका लागि हो। देशैभर खेल्न सकिने कारण भलिबललाई प्राथमिकतामा राखिनैपर्छ। किनकि, फुटबल र क्रिकेटजस्ता ठूलो मैदान आवश्यक हुने टिम खेल नेपालका सबै ७५ जिल्लामा खेल्न सम्भव छैन।
सफलताको पछि दगुर्ने काम व्यापारीको होला। तर, जिम्मेवार खेल प्रशासन र राज्यको काम सफल हुनेलाई थप सफलताका लागि उत्प्रेरित गर्नुका साथै सफलता पाउन नसकेकालाई त्यसको लायक बनाउन योगदान गर्ने हो। क्रिकेटको सफलताबाट वर्तमान सरकार पनि एकोहोरो भएको हुन सक्छ। पक्कै पनि नेपाली क्रिकेट अब ठूलो लगानीको हकदार बनिसकेको छ। कम्तीमा उपत्यकामा दुई तथा सबै विकास क्षेत्रमा एक/एक ठूला अन्तर्राष्ट्रिय स्तरका रंगशाला बनाइनुपर्छ। तर, त्यसो भन्दैमा अन्य खेललाई पूरा बेवास्ता गर्नुले सरकारको जिम्मेवारी झल्काउँदैन। सबै खेललाई सरकारले त्यसको सम्भावना, आवश्यकता र लोकप्रियता हेरेर उचित निर्णय लिनु जरुरी छ। नत्र बंगलादेशका पत्रकारले चिन्ता गरेझैं अरू खेललाई क्रिकेटले खाने अनि क्रिकेट चाहिँ आफ्नै कमजोर व्यवस्थापनले ओरालो लाग्ने अवस्था नआउला भन्न सकिन्न। त्यसो भएमा पछुताउने समय पनि मिल्नेछैन।

शुक्रबारबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *