Raju Chaudhary

काठमाडौं- आर्थिक पत्रकार समाज (सेजन) ले बर्सेनि वितरण गर्ने सेजन अवार्ड कान्तिपुरकर्मी राजु चौधरीले पाएका छन् । चौधरीसहित विभिन्न विधामा अन्य तीन पत्रकार पनि पुरस्कृत भएका छन् । छापा माध्यममा उत्कृष्ट समाचार सम्प्रेषण गरेको आधारमा चौधरी पुरस्कृत भएका हुन् । उनीसहित नागरिक दैनिकका सुजन ओलीले पनि छापाबाटै पुरस्कार पाएका छन् । विद्युतीय माध्यमबाट इमेज च्यानलका पत्रकार हिमाल पौडेल र माउन्टेन टेलिभिजनका भागवत भट्टराईले पुरस्कार पाएका छन् ।

सोमबार सेजन स्थापना दिवसको अवसरमा अर्थमन्त्री रामशरण महतले पुरस्कृत हुने सबैलाई सम्मानपत्र र नगद २५ हजार रुपैयाँ उपलब्ध गराएका थिए । सेजनका पूर्वअध्यक्ष सम्मिलित निर्णायक टोलीले छापा र विद्युतीय माध्यममा एक वर्षको उत्कृष्ट समाचार छनोट गरेको हो ।

कार्यक्रममा अर्थमन्त्री महतले मुलुकभित्रै रोजगारी सिर्जनाको ठूलो सम्भावना रहेको बताए । जलविद्युत्, पूर्वाधारलगायत क्षेत्रमा काम अघि बढेपछि बेरोजगारीको समस्या हट्ने उनले बताएका हुन् । ‘राष्ट्र निर्माणको काममा हामी पछि परेका छौं,’ महतले भने, ‘नयाँ क्षेत्रमा अघि बढ्न आवश्यक छ ।’ आर्थिक सूचक भारतको भन्दा राम्रो भए पनि क्षमताअनुसार काम हुन नसकेको उनले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *