bus-2

काठमाडौं- नेपाल र भारतबीच औपचारिक रूपमा बस सेवा सुरु भएको छ। काठमाडौँ र दिल्ली मार्गमा सरकारी तहमा बस सेवा सञ्चालन हुन लागेको यो पहिलो पटक हो। बस सेवा सञ्चालनसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिव विष्णुओम बादे र उहाँका भारतीय समकक्षी निरज बर्माले हस्ताक्षर गर्नुभयो। हस्ताक्षर समारोहमा प्रधानमन्त्री सुशील कोइराला र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थिति थियो।

बा३ख ४१६९ नंको ३५ सिट क्षमताको वातानुकूलित बसबाट सो सेवा सुरु गरिएको हो। बस सेवाको आज यहाँ सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री सुशील कोइराला र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक उद्घाटन गर्नुभयो।

सहज रूपमा यातायात सेवा प्रदान गर्ने उद्देश्यका साथ बस सेवा सञ्चालन गरिएको हो। काठमाडौँ– भैरहवा–दिल्ली मार्गमा चल्ने बसबाट काठमाडौँदेखि भारतको राजधानी नयाँ दिल्ली पुग्न लगभग १८ घन्टा लाग्नेछ।

पर्यटकीय सुविधासहित दैनिक दुई बस काठमाडौँ र नयाँ दिल्लीबाट छुट्ने छ। नयाँ दिल्लीमा पनि भारतीय यातायातमन्त्री नितिश गड्करीले काठमाडौँ–दिल्ली बस सेवाको उद्घाटन गर्ने कार्यक्रम छ। सो मार्गमा चल्ने बसको एकतर्फी भाडा रु तीन हजार ६०० लाग्नेछ।

Bus-1

यसअघि निजी क्षेत्रबाट सो मार्गमा बस सेवा सञ्चालनमा ल्याइएका थिए। नेपाल र भारतका नागरिकलाई सहज रूपमा एक अर्का मुलुकमा आवतजावतका लागि उक्त बस सेवा प्रभावकारी हुने विश्वास लिइएको छ। यातायात व्यवस्था मन्त्रालयले लामो समयदेखि बस सेवा सञ्चालन गर्ने तयारी गरेको थियो।

सरकारी तहबाटै सुरु गरिएको बस सेवाबाट दुवै मुलुकका नागरिकबीचसमेत आपसी सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले नेपालबाट र दिल्ली ट्रान्सपोर्ट कर्पोरेसनले भारतबाट सवारी व्यवस्थापन गर्ने मन्त्रालयको भनाइ छ।
बस सेवा सुरु गर्दै प्रधानमन्त्री कोइरालाले यो ऐतिहासिक सुरुआत भएको सङ्क्षिप्त प्रतिक्रिया दिनुभयो।

भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाल भारतबीच जनस्तरमा सम्बन्ध विस्तारका लागि बस सेवाले महत्वपूर्ण योगदान दिएको बताउनुभयो। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *