s2कपिलवस्तुको बरकुलपुर-९ चौवन्नस्थित बुद्धभूमि क्याम्पसमा पाँचौं माघी खिचडी महोत्सव हुने भएको छ। थारु समुदायको कला, संस्कृति, रीतिरिवाज, भेषभुषा तथा जातीय पहिचानलाई जगेर्ना गर्न खिचडी महोत्सव गर्न लागिएको हो।

थारु उत्थान सामाजिक संस्था कपिलवस्तुको आयोजना, थारु कल्याणकारिणी सभा जिल्ला शाखाको संयोजनमा आगामी माघ २ गतेदेखि ४ गतेसम्म महोत्सव सञ्चालन हुने बताइएको छ। महोत्सवको संरक्षकमा आदिबासी जनजाति समन्वय परिषद् काठमाडौं रहने आयोजकले जनाएको छ। महोत्सवको समय नजिकिँदै जाँदा थारु अगुवाहरु यतिबेला तयारीमा जुटेका छन्।

महोत्सव सफल बनाउन मंगलबार बरकुलपुरमा थारु अगुवाहरुको भेला सम्पन्न भएको छ। भेलाले जंजीरप्रसाद थारु संयोजक र श्रीनिवास चौधरी सहसंयोजक रहेको ३५ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। भेलामा आदिबासी जनजाति समन्वय समिति कपिलवस्तुका अध्यक्ष गणेश थारु, रामशंकर थारु, गनेश्वर थारु, जगतबीर थारु लगायतको सहभागिता रहेको थियो।

महोत्सवमा थारु खानाका परिकार, हस्तकलाको प्रदर्शनी साथै थारु भेषभुषासहित झुमरा, झर्रा, मयूर, लाठी जस्ता गीत तथा नृत्यको विशेष प्रस्तुति रहनेछ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति तथा रेकर्डिङ नृत्यद्वारा दर्शकलाई मनोरञ्जन प्रदान गरिने मूल आयोजक समिति सहसंयोजक श्रीनिवास चौधरीले जानकारी दिए। यस्तै खिचडी महोत्सवमा विभिन्न सामग्रीका स्टल, मनोरञ्जनात्मक गतिविधिको समेत व्यवस्था मिलाइने चौधरीले बताउए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *