Eiddविराटनगर-  इस्लाम धर्मालम्बीले आज बिहानदेखि इद उल फित्र पर्व धार्मिक विधिपूर्वक उत्साहका साथ मनाइरहेका छन्। यस पर्वको उपलक्ष्यमा पूर्वाञ्चल क्षेत्रका इस्लाम धर्मावलम्बी बिहानै चोखो भएर नयाँ वस्त्रधारण गरी इदगाहमा पुगी नवाज अदा गरी एक अर्काका साथ खुसियाली साटेर पर्व मनाइरहेका छन्।

विभिन्न इदगाह तथा मस्जिदमा चहलपहल व्यापकरूपमा देखिन्छ। इस्लाम धर्मको पात्रोअनुसार नवौँ महिनामा एक महिनाका लागि रोजा अर्थात् दिनभरि उपवासमा बसेर पर्वको शुभारम्भ गरिएको थियो।

गत असार १६ गतेदेखि रोजा सुरु भएपछि सोमबार साँझ चन्द्रमाको दर्शन गरी रोजा पर्व सम्पन्न भएको थियो। रोजा पर्वका अवसरमा कुरान पाठ, अल्लाहको एवादत गर्ने, झुटो नबोल्ने, दान गर्ने र शरीरलाई चोखो राखेर मनाइने परम्परा रहेको छ।

तीन दिनसम्म मनाइने यस पर्वमा दीनदुःखीलाई दान गर्ने र मीठो परिकार खाने गरिन्छ।

ईदको अवसरमा सामूहिक नमाज
नेपालगन्ज- मुस्लिम समुदायको धार्मिक पर्व ईद–उल–फित्रका अवसरमा आज यहाँको जामा मस्जिदमा सामूहिक नमाज पाठ गरियो। मुलुकमा अमनचैन, शान्ति, सामाजिक सद्‍भाव तथा धार्मिक एकताको कामना गर्दै गरिएको नमाज पाठपछि सहभागीबीच अङ्कमाल गरी ईदको शुभकामना साटासाट गरिएको थियो।

त्यस अवसरमा नेपाली काँग्रेस, नेकपा (एमाले), एमाओवादीलगायत दलका पदाधिकारीले समेत नमाजमा सहभागी मुस्लिम समुदायसँग अङ्कमाल गरी शुभकामना व्यक्त गरेका थिए।

मुस्लिम समुदायले यो पर्व तीन दिनसम्म मनाउने गर्दछन्। पर्वमा आफ्नो कमाइको साढे दुई प्रतिशत दीनदुःखीलाई दान दिने परम्परा रहिआएको छ। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *